
काठमाण्डु, ८ चैत– भारतको उत्तराखण्ड प्रहरीले करिब ४ किलो चरेससहित दुई जना नेपालीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महाकाली नगरपालिका–६ पौनेखोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका–१ पिपौलचौरीका २६ वर्षीय रवि कुँवर रहेका छन ।
उत्तराखण्ड प्रहरीको विशेष अपरेसन समूहले धारचुला तहसिल नयाँबस्तीबाट पाल र कुँवरलाई पक्राउ गरेको हो। तीन किलो ६८० ग्राम चरेससहित उनीहरुलाई सोमबार बेलुकी ७ बजेतिर पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले बताएको छ ।
बरामद गरिएको चरेस दार्चुला नाकाबाटै भारत लगिएको आशंका गरिएको छ। भारतको धारचुला क्षेत्रमा चरेससहित दुई जना पक्राउ परेको खबरपछि खलंगास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको प्रहरीले बताएको छ ।