
काठमाण्डु,६ चैत– नेकपा (माओावदी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन र सरकार विधि र प्रक्रिया अन्तर्गत नै अघि बढेको बताएका छन ।
आज (सोमबार) प्रतिनिधि सभा बैठकमा आफुले पेस गरेको विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन ।
प्रचण्डले गठबन्धन गरेर लोकतन्त्रको नयाँ अभ्यास गरिरहेको भन्दै नेकपा विभाजन र संसद विघटनको गम्भीर समीक्षा गर्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती समेत दिएका छन ।
उनले गठबन्धन बदलेकोबारे एमाले उपाध्यक्ष विष्णु पौडेलले जवाफ मागेको भन्दै पौडेल आफैं उपप्रधानमन्त्री भएकाले जवाफ दिन आग्रह गरेका छन । पुस १० को गठबन्धन बनाउन एमालेले नै बोलाएकाले नै आफु खोज्दै त्यहाँ नगएको पनि उनले बताएका छन । उनले भने, ‘म यतै बल गर्दै थिए, म खोज्दै गएको भन्ने सत्य होइन ‘कांग्रेसलाई के के भन्नुभयो, बाइ द वे म गएँ ।’
प्रधानमन्त्री प्रचण्डले आफुले केपी ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको पनि बताए । ‘मैले तपाईलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ, तपाईले मलाई ब्याज दिनुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो । तपाईले तिर्नुभयो । एउटा त तिर्नुभयो अझै एउटा बाँकी छ हिसाब राख्नुस् ।’ उनले अराजक ढंगले अघि बढेको भन्न नमिल्ने पनि बताएका छन ।
उनले संविधान निर्माणपछि विचार मिल्ने दलहरु एक भएर अघि बढ्न सके विकास निर्माण र सम्मृद्धिले गति लिने अपेक्षासहित आफै प्रस्तावक भएर निर्वाचनमा गएको बताएका छन । तर त्यो प्रस्ताव जनता र कार्यकर्ताबाट अनुमोदित भएपनि नेताको तहबाट अनुमोदित हुन नसकेको बताएका छन ।