आज प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाण्डु टुडे २०७९ चैत ६ गते ८:३४ मा प्रकाशित

काठमाण्डु, ६ चैत– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्न लागेका हुन् । प्रचण्ड गत १० पुसमा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । पहिलोपटक उनले पुस २६ मा विश्वासको मत लिएका थिए ।

एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीलाई राजीनामा गराएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन् । प्रचण्डलाई आफ्नो दल माओवादी केन्द्रसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीसहित १२ दलले विश्वासको मत दिने भएका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा तत्काल कायम संख्याको बहुमत अर्थात १ सय ३८ सांसदको समर्थन चाहिन्छ ।

कांग्रेसका ८८, माओवादीका ३२, रास्वपाका १९, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, राष्ट्रिय जनमोर्चाको १, नेपाल समाजवादी पार्टीको १, आम जनता पार्टीको १ सांसद छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीले सहजै विश्वासको मत पाउने सम्भावना छ । योसँगै अब एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी मात्र प्रतिपक्षमा बस्ने भएको छ ।

एमालेका ७९, राप्रपाका १४ र नेमकिपाका १ सांसद छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us