
काठमाण्डु, ६ चैत– एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको काठमाण्डुटुडेलाई बताए । नेम्वाङले एमाले प्रतिपक्षमा बसेर सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने उल्लेख गरे । ‘हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनौं’, नेम्वाङले भने, ‘प्रतिपक्षमा बसेर जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गछौैं ।’
प्रधानमन्त्रीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा व्श्विासको मत लिँदैछन् । आइतबारको बैठकमा एमाले प्रतिपक्षी बेञ्चमा बसेको थियो । प्रचण्ड गत १० पुसमा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका थिए । २६ पुसमा उनले विश्वासको मत लिएका थिए ।
तर, त्यतिबेला प्रतिपक्षमा रहेको काँग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । तर, राष्ट्रपतिमा माओवादी र काँग्रेसबीच गठबन्धन भएपछि एमाले प्रतिपक्षमा बसेको हो । एमालेले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो ।