राष्ट्रपति पौडेल सडक खाली नगराई कुमारी घर पुगे

काठमाण्डु टुडे २०७९ चैत ४ गते १८:०७ मा प्रकाशित

काठमाण्डु,४ चैत– राष्ट्रपति रामचन्द्र पौडेल कारकेड नलिई काठमाण्डुको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् । राष्ट्रपति पौडेलले आज (शनिबार) अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्पराको अन्त्य गरेका हुन ।

कारकेड बिनानै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरेका छन । त्यसक्रममा सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए भने पैदलयात्रुलाई पनि रोकिएको थिएन ।

राष्ट्रपतिको सवारीका बेला सडक आली गराइएको र सर्वसाधारणलाई हिँड्न पनि नदिएको भन्दै विगतमा आलोचना भएको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पशुपतिनाथको दर्शन गर्न जाँदा सडक खाली गराइएको थियो र उनको पनि आलोचना भएको थियो ।

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । यसअघि शनिबार नै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us