
काठमाण्डु,४ चैत– कांग्रेस नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भन्ने विषय टुङ्गो नलागेको बताएका छन ।
आज (शनिबार) नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । नेता केसीले कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पार्टी भित्र छलफलैनै नभएको बताएका छन ।
उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैतमा विश्वासको मत प्राप्त गरेपछि को कसलाई सरकारमा पठाउने भन्ने विषयमा निर्णय हुने पनि बताएका छन ।
उनले गठबन्धन सरकारमा जाँदा पनि साझा प्रतिवद्धताहरु ल्याउनुपर्ने बताएका छन । उनले अहिले मुख्य लडाई भनेको मुलुकमा गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्ट्राचारको समस्या रहेकोले त्यस विरुद्ध लड्न सबै एक हुनुपर्ने बताएका छन ।
उनले अहिले देखिएको बैङ्किङ ब्याजदर, लघुवित्त समस्या समाधानमा सरकारको ध्यान जानु पर्ने पनि बताएका छन ।