
काठमाण्डु,३ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘देश अर्कालाई जिम्मा लगाइदिऊँ’ भनेर अभियान चलाउनेहरुलाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन् । नभए जनताले प्रतिवाद गर्ने उनको चेतावनी छ ।
आज (शुक्रबार) काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले देशद्रोही अभियानबारे सरकारलाई थाहा छ कि छैन भनेर प्रश्न गरेका छन ।
‘यो देशको सन्तान भन्न पनि नसुहाउने, देशद्रोही कुरा गरेर हिँडेको छ । सरकारले लगाएको कि नलगाएको ? सरकार सुन्छ कि सुन्दैन ?’, उनले भने, ‘जनताले प्रतिवाद गर्न नपरोस्, शान्ति सुव्यवस्था कायम राख्न सरकारले ध्यान देओस् । उनले सार्वभौसत्ता, राष्ट्रियताविरुद्ध कोही चम्किँदै हिड्छ भने जनताले प्रतिवाद गर्ने उनले बताए ।
‘कुनै बैंकका डिफल्टर हुन् कि जो सुकै हुन्, कसैलाई पनि जनताले सहन सक्दैन’, उनले भने, ‘लडेर बचाएको देश हो, साग र साइकल सस्तो पाइन्छ रे १ यो देशको अन्न खाएर जन्मिएको हुँ भन्ने मान्छे कसरी बोल्न सक्छ यो देश अर्कालाई जिम्मा लगाइदिऊँ ।’ यस्तो अभियान चल्दा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै उनले प्रश्न गरेका छन् ।