काठमाण्डु,२९ फागुन– कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रमेश रिजालले कांग्रेस अबको एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन ।
आज (सोमबार) वीरगञ्जका सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । सांसद रिजालले ५ चैत वा ६ गतेभित्र कांग्रेसमा सहभागी हुने तयारीमा रहेको बताएका छन ।
उनले भने, ‘कुन–कुन मन्त्रालय लिने र क–कस्लाई मन्त्री बनाउने बिषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ’, उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छौं।’
उनले कांग्रेसले ९ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब–करिब सहमति भएको बताएका छन । उनले भने, ‘कुन नेताको नेतृत्वमा सरकारमा जाने विषयमा कुनै ठोस निर्णय भइसकेको छैन’ ‘पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ, तर पार्टीले निर्णय गरिसकेको छैन।’
आठ दलीय गठबन्धनबाट उपराष्ट्रपतिका लागि तीनजनाको उम्मेदवारी परे पनि अन्तिम समयसम्ममा एकजना उम्मेदवारमा सहमति हुने जिकिर गर्दै उनले यस विषयमा गठबन्धन आबद्ध दलबीच प्रयास भइरहेको बताएका छन ।