प्रदेश १ को नाम ‘कोसी’ राख्न कांग्रेस–एमाले सहमत

काठमाण्डु टुडे २०७९ फागुन १७ गते ११:१७ मा प्रकाशित

काठमाण्डु,१७ फागुन– प्रदेश १ को नाम ‘कोसी’ राख्न एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् । पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दल कोसी नाम राख्न लगभग सहमत भएका हुन ।

यी दुई ठूला दलको पक्षमा राप्रपा रहेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले भने फरक मत रहेको छ । नामका विषयमा दलहरुबीच भएको अनौपचारिक छलफलमा तीन दलले पहिचानसहितको नाम प्रस्ताव आउनु पर्ने बताएका छन ।

ठूला दल भूगोलका आधारमा कोसी राख्न सहमति नजिक पुगेपछि माओवादीसहितका तीन दलले पहिचानसहितको छुट्टै नाम टेबल गर्ने तयारीमा रहेका छन । नेकपा माओवादी केन्द्रका एक नेताले भने, ‘कांग्रेस, एमाले कोसी नाम राख्ने विषयमा सहमत छन्, तर हामी पहिचानसहितको छुट्टै नाम छलफलका लागि टेबल गर्छौं, के नाम लैजाने भन्ने छलफल गरिरहेका छौं ।’

ती नेताका अनुसार किराँत, लिम्बुवान किराँत र कोशी किराँत मध्ये एउटा नाम लैजाने तयारी रहेको छ । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार दलहरुबीच सहमति भए आजै प्रदेशसभामा नामको प्रस्ताब टेबल हुनेछ । ‘आज दिउँसो कार्यव्यवस्था परामर्श मितिको बैठक छ,’ उनले भने, ‘बैठकमा सहमति जुटे आज नामको प्रस्ताव टेबल हुन्छ ।’

उनले कोसी वा कोसी किराँत नाम राख्ने विषयमा छलफल भएको बताएका छन । एमाले प्रदेश १ को नाम कोसी राख्नु पर्ने पक्षमा रहेको छ । प्रदेशसभाको पहिलो कार्यकालमा पनि एमालेले कोसी राख्न प्रस्ताव गरेको थियो । एमालेले प्रस्ताव गरेको नाममा नेपाली कांग्रेस पनि सहमत छ ।

‘प्रदेशको नाममा हाम्रो यही भन्ने अडान छैन,’ कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने, ‘जुन नाममा अधिकत सहमति हुन्छ, त्यही नाम पास गर्नुपर्छ ।’

यस्तै नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टी पहिचानको पक्षमा रहेको बताए । ठूला दलले भूगोललाई आधार मानेर नाम ल्याउन खोजेको उनले बताएका छन । ९३ सदस्यीय प्रदेशसभामा नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । ४० सिटको नेकपा एमाले र २९ सिटको नेपाली कांग्रेस एक ठाउँमा उभिदा दुई तिहाइ पुग्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us