
काठमाण्डु, १७ फागुन– राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू भएको छ ।
निर्वाचन आयोगले बुधबार सूचना जारी गरी आचारसंहिता लागू भएको जनाएको हो । राष्ट्रपतिका लागि २५ फागुन र उपराष्ट्रपतिका लागि ३ चैतमा चुनाव हुँदैछ । राष्ट्रपतिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । उपराष्ट्रपतिमा भने राष्ट्रपति निर्वाचनपछि मात्र उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची छ ।
नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी, राजनीतिक दल र भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ । निर्वाचनमा उम्मेदवारले अधिकतम चार लाख रुपैयाँ खर्च गर्न पाउने सीमा आयोगले तोकेको छ ।
आचारसंहिता पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न आयोगले सम्वद्ध सबैलाई आग्रह गरेको छ ।