
जनकपुर, १७ फागुन– कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार नढल्ने बताएका छन् ।
उनले काँग्रेसले विश्वासको मत दिएर सरकारलाई निरन्तरता दिने बताए । गत २६ पुसमै प्रधानमन्त्रीलाई आफूहरुले विश्वासको मत दिइसकेको र यसपटक पनि सरकार अल्पमतमा पर्न नदिने उनको भनाइ थियो । ‘सरकारका अगाडि कुनै संकट आउँदैन, हामी विश्वासको मत दिन्छौं’, प्रेस युनियनले मंगलबार विराटनगरमा गरेको कार्यक्रममा निधिले भने ।
उनले एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै ढोक्सामा माछा परिसकेको बताए । २६ पुसमा काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि ओलीले संसदको रोष्ट्रममा उभिएर काँग्रेसले ढोक्सा थापेको भन्दै ढोक्सामा माछा नपर्ने टिप्पणी गरेका थिए । ओलीको सोही अभिव्यक्तिको निधिले जवाफ फर्काएका हुन् ।
निधिले राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया र संविधान पक्षधर राजनीतिक दलहरुका बीचमा दिर्घकालीन साझेदारी हुनुपर्नेमा जोड दिए । एउटै गठबन्धनबाट चुनाव लडेका दलहरु फेरि एकै ठाउँ उभिने वातावरण निर्माण हुनु सुखद भएको उनको भनाइ छ ।