
काठमाण्डु,१६ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन ।
आज पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि आज सुर्खेत पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन । प्रशिक्षणको क्रममा उनले ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताएका छन । उनले मुलुकका लागि यो राम्रो नहुने बताएका छन ।
उनले भने, ‘नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ ’ यसमा नेकपा माओवादी केन्द्र त छँदैछ ।’ जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको नेपालले बताएका छन । उनले आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्वपूर्ण रहेको बताएका छन ।
उनले संविधान, सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमतिको आवश्यक रहेको पनि बताएका छन । उक्त सन्दर्भमा विसं २०७५ गठन भएको नेकपा ब्युताउनुपर्ने कुरा आफूले राख्दै आएको उनले स्पष्ट पारेका छन ।