राष्ट्रपतिमा पौडेललाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

काठमाण्डु टुडे २०७९ फागुन १६ गते ८:२५ मा प्रकाशित

काठमाण्डु, १६ फागुन– कांग्रेस सभापति शेरबहादुर देउवाले ८ दलका राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई मत माग्दै एमाले अध्यक्ष केपी ओलीलाई पत्र पठाएका छन् ।

देउवाको पत्र बोकेर काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोटस्थित ओली निवास पुगेका थिए । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि काँग्रेसबाट वरिष्ठ नेता पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

एमालेले भने काँग्रेसबाहेकका दललाई उम्मेदवारी दर्ता भएको दिन १३ पुसमा नेम्वाङका पक्षमा भोट मागेर पत्र पठाइसकेको छ । ‘लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं यो अभ्यासले समाजलाई सु–संस्कृत सन्देश दिन सक्नुपर्छ’, पत्रमा देउवाले लेखेका छन्, ‘त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु ।

राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु ।’ राष्ट्रपति आफैंमा उच्च गरिमायुक्त संस्था भएकाले उक्त संस्थाको नेतृत्व चयन सम्भव भएसम्म वृहत्तर सहमतिका आधारमा हुन सकोस भन्न आमअपेक्षा रहेको भन्दै देउवाले सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सुसंस्कृत अभ्यास देखाउनुपर्नेमा जोड दिए ।

राष्ट्रपतिका उम्मेदवार पौडेल शालीन, बौद्धिक र सुसंस्कृत छविका रहेको र लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्वका साथै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहभन्दा माथि उठेर निर्वाह गर्न सक्ने सक्ने सबल व्यक्ति भएको दाबी देउवाले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us