१६ मन्त्रालय मन्त्रीबिहीन

काठमाण्डु टुडे २०७९ फागुन १५ गते १९:३० मा प्रकाशित

काठमाण्डु, १५ फागुन– एमाले सरकारबाट बाहिरिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्रालय मन्त्रीबिहीन बनेका छन् ।

एमालेले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । माओवादी केन्द्रले राष्ट्रपतिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेसँगै एमालेले सरकार छाड्ने अपेक्षा गरिएको थियो ।

राष्ट्रपति निर्वाचनपछि मात्र सरकारबाट बाहिरिने रणनीतिमा रहे पनि प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बिमला पौडेल राई पौडेलको जेनेभा भ्रमण रोकेपछि एमालेले सचिावलय बैठकबाट निर्णय गराएर हठात सरकार छाडेको हो । एमाले मन्त्रीहरुले प्रधानमन्त्रीलाई सामूहिक राजीनामा बुझाए । एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित ८ मन्त्री सरकारमा सहभागी थिए ।

यसअघि राप्रपाका मन्त्रीहरुले शनिबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए । अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, कृषि, उद्योग, महिला बालकालिका तथा ज्येष्ठ नागरिक र कृषि मन्त्रालय एमालेका मन्त्रीले सम्हाल्दै आएका थिए ।

यस्तै रापैपाले ऊर्जा, जलश्रोत तथा सिंचाई, सहरी विकास र कानून मन्त्रालय लिएको थियो । यसअघि सरकारबाट बाहिरिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्हालेको गृह, शिक्षा, श्रम तथा रोजगार मन्त्रालय पनि मन्त्रीबिहनी छ । वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय यसअघि नै प्रधानमन्त्रीसँग थियो ।

योसँगै प्रधानमन्त्रीले १६ वटा मन्त्रालयको कार्यकार सम्हालनुपर्ने अवस्था आएको छ । प्रचण्ड ७ दलको समर्थनमा गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us