
काठमाण्डु,१५ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई बेवास्ता गरेर कसैले मुलुक चलाउन नसक्ने बताएका छन ।
आज (सोमबार) सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आएर आफूहरुको महत्व बुझेको पनि बताएका छन । उनले भने, ‘आज बिहान मात्रै प्रधानमन्त्रीजीसँग भेट भयो ।
उहाँ भन्दै हुनुहुन्थ्यो तपाईंलाई पहिले नै सरकारमा सहभागी गराउन कति चाहेको थिएँ तर हुँदै भएन,’ ‘हो पनि हामीलाई कसैले बेवास्ता गरेर यो मुलुक चलाउँछु भन्ने ठान्छ भने त्यो समयमै सचेत भएर चलोस् । हामीलाई कसैले पनि माइनस, मिनिमाइज गर्न सक्दैन ।’ नेपालले राष्ट्रपति निर्वाचनका लागि गरिएको आठ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने दावी समेत गरेका छन । ‘आँट भएका, विचार भएका दलहरू एक ठाउँमा छौँ ।
यो गठबन्धन टिक्छ, चुनावसम्म नै जान्छ’, उनले भने, ‘आफू विचारमा दृढताका साथ उभिने हो । चुनौतीको सामना गर्ने हो । अझै भन्नु हुन्छ भने राजनीतिको कोर्स नै चेन्ज गरिदिने हो ।’ अध्यक्ष नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नै राष्ट्रपतिमा विजयी हुने बताएका छन । ‘रामचन्द्र पौडेलजीलाई राष्ट्रपति उम्मेदवार खडा गरेका छौँ ।
उहाँ नै मुलुकको तेस्रो राष्ट्रपति बन्नुहुन्छ,’ नेपालले भने । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग वार्ता गरेपछि तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण भएको स्थिति २०७५ को दिशामा फर्काउन सकिन्छ कि भनेर पहल गरे पनि सफल नभएको नेपालले बताएका छन ।