राप्रपाले प्रदेश १ मा तत्काल सरकार नछाड्ने

काठमाण्डु टुडे २०७९ फागुन १४ गते १३:२६ मा प्रकाशित

काठमाण्डु,१४ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेश १ मा तत्काल सरकार नछाड्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ । तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको छ । राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने जानकारी दिएका छन ।

अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णयमा पुगिने उनले जानकारी दिएका छन । उनले भने, ‘अन्य प्रदेशको तुलनामा प्रदेश १ विशिष्ट परिस्थितिको छ,’ उनले भने, ‘हाम्रा कारणले अस्थिरता नहोस भन्ने चाहन्छौं ।’ प्रदेश सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा छलफल गर्न पार्टीको प्रदेश समितिले बैठक बोलाएको उनले ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजिनामा दिइसकेका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा नेकपा एमालेको सहयोगमा प्रत्यक्ष तर्फ दुई सिट जितेको राप्रपा एमालेसँग नजिक छ ।

एमाले र राप्रपा एक ठाउँमा उभिए ४६ मत पुग्छ । कांग्रेस माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपाको गठबन्धनको मत पनि ४६ नै पुग्छ । प्रदेशमा माओवादी केन्द्र सरकारबाट बाहिरिएको छैन । माओवादी केन्द्र र जसपा सरकारबाट बाहिरिए मुख्यमन्त्री कार्की अल्पमतमा पर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us