अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुँदैन: झलनाथ खनाल

काठमाण्डु टुडे २०७९ फागुन १४ गते १२:३५ मा प्रकाशित

काठमाण्डु,१४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने बताएका छन ।

उनले वामपन्थीहरू एक ठाउँमा आएको अवस्थामा मात्र परिवर्तन हुन सक्ने बताएका छन । आज आइतबार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । नेता खनालले भने, ‘देश जुन तरिकाले अघि बढिरहेको छ, गठबन्धनहरू कति बेला, कसरी बन्ने हुन अहिले यसै भन्न सकिने अवस्था छैन ।

अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन। अहिले नेपालका वामपन्थीहरू एक ठाउँमा आउने हो भने परिवर्तनको अवस्था छ। तर वामपन्थीहरूमा अर्कै रूप देखिन्छ ।’ उनले वामपन्थीहरुको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन । ‘तर उनीहरू भित्रै दक्षिणपन्थी छन् ।

त्यसैले नेकपा एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना न्यून रहेको छ,’ खनालले भने । उनले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने बताएका छन ।

उनले भने, ‘अहिले राष्ट्रपतिको मतका लागि पत्र आइरहेका छन् त्यो विषयमा हामी छलफल गर्छौँ,’ । पार्टीका अध्यक्ष माधव नेपालले भने एमालेका उम्मेदवारलाई मत हाल्न नसकिने बताइसकेका छन । उनले देश समाजवादी क्रान्तिमा अघि बढिरहेको बताउँदै आफ्नो पार्टी पनि त्यही दिशामा अघि बढिरहेको जिकिर गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us