एमालेले पठायो राष्ट्रपतिमा नेम्वाङलाई सहयोग गर्न दलहरुलाई औपचारिक पत्र

काठमाण्डु टुडे २०७९ फागुन १४ गते ११:३१ मा प्रकाशित

काठमाण्डु,१४ फागुन– एमालेले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न कांग्रेसबाहेक संसद्‌मा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले कांग्रेसबाहेक संसद्‌मा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएको जानकारी दिएका छन ।

राजनीतिक दल र स्वतन्त्रसहित १७ पत्र पठाइएको उनले बताएका छन । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत पार्टीका अध्यक्षसहित स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र लेखेका छन ।

पत्रमा लेखीको छ, ‘नेपालको संविधानको मर्म र भावनाअनुरुप नेम्वाङ राष्ट्रपतिका लागि अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ, राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ अनुरोध गर्दछु ।’

यस्तै एमालेले ०७९ को नयाँ जनादेशअनुरुप गत पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमतिअनुसार एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गराएको जाजकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us