
हेटौंडा, १४ फागुन– बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।
खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिबार राति मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा बुझाएका हुन् ।
पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिएको उनले बताए । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले पनि राजीनामा दिएका छन्।
केन्द्रमा पनि शनिबार राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका थिए ।
राष्ट्रपति निर्वाचनको उम्मेदवार मनोनयनका बेला नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट हट्ने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।