मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री

काठमाण्डु टुडे २०७९ फागुन १३ गते १८:५२ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको मन्त्रिपरिषद पुनर्गठन हुने बताएका छन् ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले राप्रपाले सरकार छाडेकाले मन्त्रिपरिषद पुनर्गठन हुने बताए । एमालेले राष्ट्रपतिमा छुट्टै उम्मेदवारी दिएकाले करिब प्रतिपक्षमा गएको उनको भनाइ थियो ।

एमालेले सरकार छाडे पनि सभामुख पाइसकेको हुँदा कतै जान सक्ने स्थिति नबनेको पनि उनले बताए । आठ दलबीच राष्ट्रपतिमा काँगेस नेता रामचन्द्र पौडेललाई सघाउने निर्णय हुनु नै राष्ट्रिय सहमति भएको दाबी प्रचण्डले गरे ।

शुक्रबार आफूलाई भेट्न बालुवाटार आएका एमाले अध्यक्ष केपी ओलीलाई आफूले राष्ट्रपतिमा काँग्रेसलाई सघाएर राष्ट्रिय सहमतिको सूत्राधार बन्न आग्रह गरेको तर उनले अस्वीकार गरेको बताए ।

‘मैले एमाले अध्यक्ष केपी ओलीसँग तपाईं र म राष्ट्रिय सहमतिको सूत्रधार बनौं । नेपाली कांग्रेसलाई राष्ट्रपति तपाईं र मेरो सहमतिले दिऊँ । सबैभन्दा ठूलो पार्टीको राष्ट्रपति हुन्छ । तपाईंको सभामुख भएकै छन् । राष्ट्रिय सभाका अध्यक्ष पनि छन् । हामी दुइटै गएर नेपाली कांग्रेसलाई राष्ट्रपति लिनुस् भन्यौं भने एउटा नयाँ राष्ट्रिय सहमति हुन्छ भनेको थिएँ । तर उहाँले मान्नुभएन’, प्रचण्डले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us