ओलीले भनेः मलाई प्रचण्डप्रति विश्वास छ

काठमाण्डु टुडे २०७९ फागुन १३ गते १४:१८ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आफूलाई विश्वास रहेको बताएका छन् ।

उपाध्यक्ष सुवास नेम्वाङको राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग ओलीले १० पुसको सहमतिका आधारमा एमालेले अघि सारेका उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने बताए । उनले ८ दलीय गठबन्धन अस्तित्वमै नरहेको टिप्पणी गरे ।

‘८ दलीय गठबन्धन नै छैन । बेलुका प्रधानमन्त्री कार्यालयमा केही दलका साथीहरूलाई बोलाइएको थियो’, उनले भने, ‘प्रचण्डजीले समर्थन कसरी भन्नुभयो अरूको त्यस्तो कुरा छैन । कहीं बिग्रिएको छैन । त्यो २५ गते थाहा पाउनुहुन्छ ।’ ‘
कुनै पनि दलले वक्तव्य निकालेर कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय नगरेकाले राष्ट्रपतिमा नेम्वाङ विजयी हुने दाबी ओलीले गरे । पुस १० गते नै नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय भएको दाबी गर्दै उनले पूर्वसहमतिबाट प्रचण्ड पछि नहट्ने बताए ।

हाम्रो उम्मेदवार पुस १० गते नै टुंगो लागिसकेको हो । हामीले बाहिर नल्याएका मात्रै हौं । सहमति पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं । बचनबाट कोही पनि पछि हट्न सक्दैन,’ ओलीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us