
काठमाण्डु, १३ फागुन–राष्ट्रपति उम्मेदवार एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति जुट्न सक्ने बताएका छन् ।
राष्ट्रपतिमा शनिबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग उनले आफ्नो नाममा राष्ट्रिय सहमतिको सम्भावना रहेको बताए । संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको स्मरण गर्दै उनले त्यही संविधानको संरक्षकको भूमिकामा आफ्नो नाममा सहमति हुनसक्ने बताए ।
आफूभन्दा पहिला कसैले उम्मेदवारी नदिएको भन्दै उनले अर्को उम्मेदवारी परे पनि सम्मान रहने उल्लेख गरे । ष्यदि प्रतिस्धर्पाको अवस्था आए पनि परिणाम स्वीकार गर्न आफूलाई अप्ठेरो नरहेको उनको भनाइ थियो । नेम्वाङको उम्मेदवारी मनोनयनको प्रस्तावकमा एमाले अध्यक्ष केपी ओली र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तथा सचिवद्वय गोकर्ण विष्ट र छविलाल विश्कर्मा छन् ।
यस्तै समर्थकमा एमाले सचिव योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल र अमनकुमार मास्के छन् ।