
काठमाण्डु, १३ फागुन– नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने भएको छ ।
सभापति शेरबहदुर देउवाले पौडेललाई उम्मेदवार बनाउनेबारे प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराइसकेका छन् ।
काँग्रेसका एक पदाधिकारीले पनि आफूहरुको उम्मेदवार पौडेल भएको बताए । ती नेताका अनुसार आजै बस्ने कार्यसम्पादन समिति बैठकले त्यसबारे औपचारिक निर्णय लिने छ । काँग्रेसमा पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रपतिका आकांक्षी थिए ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको निर्वाचनअघिको गठबन्धनमा सहभागी र निर्वाचनबाट आएका नयाँ दलसहित आठ दलले राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो ।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी मिल्दा राष्ट्रपतिमा जित्न मतभार पुग्छ । पौडेल गणतन्त्र नेपालका तेश्रो राष्ट्रपति बन्ने पक्का भएको छ ।