भत्कियो एमाले-माओवादी गठबन्धन

काठमाण्डु टुडे २०७९ फागुन १२ गते २०:४२ मा प्रकाशित

काठमाण्डु, १२ फागुन– काँग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीसहित ८ दलले राष्ट्रपतिमा साझा उम्मेदवार खडा गर्ने भएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको ८ दलका शीर्ष नेताको बैठकले शुक्रबार साँझ उक्त निर्णय गरेको हो । एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बैठकले काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।

राष्ट्रपति काँग्रेसले लिने सहमति भए पनि उम्मेदवारबारे छलफल नभएको ज्वालाको भनाइ थियो । उनले राष्ट्रपतिको उम्मेदवार काँग्रेसले अघि सार्ने बताए । काँग्रेस नेताहरुले शनिबार बिहान बस्ने बैठकले उम्मेदवार तय गर्ने बताएको जानकारी ज्वालाले दिए । राष्ट्रपति काँग्रेसले लिने सहमतिसँगै निर्वाचनअघिको पुरानो गठबन्धन ब्युँतिएको छ ।

गत १० पुसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएकै बेलाको समझदारीअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गर्दै आएको एमाले सरकारबाट बाहिरिन सक्ने आंकलन गरिएको छ ।

बैठकमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका नेता सहभागी थिए । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us