
काठमाण्डु, १२ फागुन– राष्ट्रपति निर्वाचनमा मतदान गर्ने कि नगर्ने भन्नेमा विवाद चर्किएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बैठक बस्दैछ ।
बहुमत केन्द्रीय सदस्य राष्ट्रति निर्वाचन बहिस्कार गर्नुपर्ने पक्षमा उभिएपछि अध्यक्ष राजेन्द्र लिङदेन अप्ठेरोमा परेका छन् । राप्रपा अध्यक्ष लिङदेनको नेतृत्वमा सरकारमा सहभागी भएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार बैठक अपराह्न १२ः३० मा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
पार्टी विधानमै गणतन्त्र अन्त्य गरी राजतन्त्र फर्काउने उल्लेख भएका कारण गणतन्त्र संस्थागत गर्न हुने राष्ट्रपति निर्वाचनमा पार्टी सहभागी हुन नहुने भन्दै लिङदेनमाथि नेताहरुले दबाब दिइरहेका छन् ।