
काठमाण्डु,११ फागुन– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुरानो गठबन्धन ब्युँताएर जानुपर्ने सुझाव दिएका छन । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा राष्ट्रपतिको निर्वाचन अघि पुरानो गठबन्धन निर्माण गरेरजान नेपालले प्रचण्डलाई सुझाए दिएका हुन ।
‘माधव कमरेडले प्रधानमन्त्रीज्यूसँग सात दलीय गठबन्धन भत्काएर निर्वाचन अघिकै गठबन्धनमा फर्किन प्रस्ताव गर्नुभयो । राष्ट्रपतिमा सकेसम्म समझदारी गरेर जानु पर्छ भन्ने छ,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए । आजको बैठकमा दुई नेताले यसअघि कांग्रेस र नेकपा एमालेसँग भएका छलफलहरुका बारेमा ब्रिफिङ एक अर्कालाई गरेका थिए । ‘राष्ट्रपतिका विषयमा कांग्रेस र एमालेसँग भएका छलफलका विषयमा पनि दुई नेताबीच छलफल भयो,’ ती सदस्यले भने, ‘कसरी समझदारी गरेर जाने भन्ने विषयमा चाहिँ आज कुनै सहमति भएको छैन ।’
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा नेपालले पुरानो गठबन्धन ब्युँताउने समझदारी बनेमा राष्ट्रपतिमा आफ्नो पार्टीको पनि स्वाभाविक दाबी रहने कुरा राखेका थिए । उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले पनि आजको बैठकमा राष्ट्रपतिका विषयमा कुनै ठोस समझदारी भइनसकेको बताएका छन ।