
काठमाण्डु,११ फागुन–नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन बदल्ने निष्कर्षमा नपुगेको बताएका छन ।
आज (बिहिबार) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको भेटवार्ता सकिए पछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन ।
उनले राष्ट्रपतिनिर्वाचनको विषयमा सबै दलहरुसँग छलफल गर्ने क्रममा एकीकृत समाजवादीसँग पनि कुराकानी भएको पनि बताएका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेको भन्दै उनले अरु पार्टीहरुसँग पनि छलफल गर्ने बताएका छन ।
‘हामीले सबैसँग छलफल गर्दैछौं, गठबन्धन परिवर्तन गर्ने निश्कर्षमा पुगिसकेको छैन’उनले भने ।नेता श्रेष्ठले अगाडि भने, ‘हामीले छलफल त सबैसँग गर्दैछौं ।
एमाले अध्यक्षसँग हाम्रो पार्टीका अध्यक्षले छलफल गरिरहनुभएको छ । अहिले एकीकृत समाजवादीसँग गरेका छौं । जनता समाजवादी पार्टीसँग गर्दैछौं । नागरिक उन्मुक्ति पार्टी, जनमत लोसपा सबैं पार्टीसँग छलफल गर्छौं ।’