
काठमाण्डु, ११ फागुन– माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच ४ मंसिरको निर्वाचनअघिको गठबन्धन सक्रिय बनाउने सैद्धान्तिक सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गएराति भएको ती दलका नेताहरुको बैठकमा उक्त सहमति भएको नेताहरुले बताएका छन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय गठबन्धन सडक संघर्षमा गएको थियो ।
सोही गठबन्धनले चुनावमा मिलेर उम्मेदवार उठाएको थियो । तर, जसपा सिट भागबण्डामा असन्तुष्टि जनाउँदै गठबन्धन छाडेर एमालेसँगको सहकार्यमा गएको थियो । जसपा बाहिरिएपछि मधेस केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनमा मिसिएको थियो । तर, चुनावपछि काँग्रेसले पूर्वसहमतिअनुसार प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगरेपछि माओवादी, एमाले, रास्वपा, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीबीच नयाँ समीकरण बनेर प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
राष्ट्रपतिसहित पावर सेयरिङका विषयमा आज पनि छलफल हुँदैछ । आजै साँझ अबेर वा शुक्रबारसम्म लिखित सहमति गर्ने तयारी छ । श्रोतका अनुसार नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने र काँग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई पाँचै वर्ष निरन्तरता दिने गरी लिखित सहमति गर्न नेताहरु तयार भएका छन् । शुक्रबार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । त्यसअघि लिखित सहमति हुने बालुवाटार श्रोतले जनाएको छ ।
काँग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा अघि सार्ने बलियो सम्भावना छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि राष्ट्रपतिका आकांक्षी छन् । तर, सभापति शेरबहादुर देउवालाई प्रचण्डसमक्ष पौडेलको नाम प्रस्ताव गरिसकेका छन् । तीन दलबीचको सहमतिमा प्रतिनिधिसभामा १० सिट रहेको नेकपा एकीकृत समाजवादी निर्णायक देखिएको छ । स्रोतका अनुसार समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चार वर्षपछि चुनावी सरकारको नेतृत्व दिने गरी सहमति गर्ने तयारी छ ।
एमालेले १० पुसको सहमतिका आधारमा राष्ट्रपति आफूले पाउनुपर्ने अडान लिँदै आएको छ । तर, अहिले एमालेलाई राष्ट्रपति दिँदा दुई वर्षपछि राज्यका प्रमुख पदहरु राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्ष एमालेको मुठ्ठीमा जाने र त्यसपछि संविधानमाति खतरा उत्पन्न हुने भन्दै माओवादीले काँग्रेससँग सहकार्यको हात बढाएको हो । एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच बुधबार पनि राष्ट्रपति चयनबारे छलफल भएको थियो । प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव दोहो¥याए भने ओलले पुस १० को सहमति सम्झाए ।
राष्ट्रपति उम्मेदवारलाई लिएर सत्तारुढ गठबन्धनबीच दरार पैदा भएपछि काँग्रेस नेतृत्वले माओवादीसँग सहकार्यको हात बढाएको हो । एक काँग्रेस नेताका अनुसार सभापति देउवाले राष्ट्रपतिमा आफ्नो दलका उम्मेदवारलाई समर्थन गरे प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्रीमा टिकाउने प्रतिबद्धता गरेका छन् ।सत्तारुढ एमालेले वर्तमान सरकार गठनअघि भएको सहमतिअनुसार आफूले अघि सारेका व्यक्ति राष्ट्रपति हुनुपर्ने अडान लिँदै आएको छ । माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने र पार्टीप्रति बफादार व्यक्ति राष्ट्रपति हुन नहुने बताउँदै आएको छ ।