देशको राजनीतिक प्रणाली, शासकीय स्वरूपमा पुनर्विचार आवश्यक छ: थापा

काठमाण्डु टुडे २०७९ फागुन १० गते १३:३३ मा प्रकाशित

काठमाण्डु,१० फागुन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरूप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्न आवश्यक भएको बताएका छन ।

आज रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले ०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले पुनर्विचार र विकल्पको बारेमा बहस गर्नुपर्ने बताएका छन ।

उनले राजतन्त्र फाल्नको लागि भएको आन्दोलन १८ वर्ष पुग्दा समेत जनताले अमन चयन शान्ति र समृद्धि नपाएको बताउँदै अहिले देशमा भइरहेको राजनीतिक प्रणाली, शासकीय स्वरूप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन । थापा निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्यान्डेट दिएको भए पनि त्यो गठबन्धन चुनाव लगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको बताउँदै देशमा फोहरी राजनीतिक खेल चलेको सुरु भएको बताएका छन ।

उनले कांग्रेस नेतृत्वको गठबन्धन पनि अस्वाभाविक र अपवित्र भएको बताउँदै नेकपा एमाले नेतृत्वको गठबन्धनमा दुई तर्फ बिचार फर्केका दलहरू भएकोले यो गठबन्धन पनि अस्वाभाविक र अपवित्र नै रहेको बताएका छन । थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढे पनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताउँदै उनले देश अहिले रेमिटेन्सको भरमा मात्रै चलेको बताएका छन ।

थापाले अबको राष्ट्रपति हुने व्यक्तिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने बताउँदै राष्ट्रपतिले स्वार्थ देखाएकोले दलहरूबीचमा खिचातानी बढेको पनि बताएका छन । उनले देशमा विदेशी चलखेल बढ्नुमा दलहरू स्वयम दोषी भएको बताउँदै मुलुकको स्वाभिमानमा सचेत रहन दलहरूलाई सुझाव दिएका छन ।

उनले राजतन्त्र पुनर्स्थापनाको विषयमा पत्रकारको जिज्ञासाबारे बोल्दै अध्यक्ष थापाले अहिले राजतन्त्र र राजनीतिक दलहरूका बिचमा आशङ्का र अविश्वासको खाडल रहेको बताएका छन । उनले प्रजातन्त्र दिवसका दिनमा पूर्वराजले दिएको सन्देशमा राजनीतिक दलहरूसँग समन्वय गर्ने भने पनि यसको लागि निकै ढिलो भएको पनि बताएका छन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us