
काठमाण्डु,१० फागुन– भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचाररत कांग्रेस नेता एवं प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीलाई बुधबारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ ।
यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा बुधबारदेखि भने मुखबाटै खाना खुवाइने सांसद भण्डारीसँगै रहेका योगराज कँडेलले जानकारी दिएका छन । ३ फागुनको राति घरमा ग्यास चुहिएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए ।
हरिकलाको उपचारका क्रममा ४ फागुनमा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । सांसद भण्डारीलाई भने ४ फागुनमा थप उपचारका लागि मुम्बई लगिएको थियो । मुम्बईको नेशनल बर्न्स सेन्टरमा भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि ८ लिटर अक्सिजन दिइएकामा बुधबार विहान ७ बजेदेखि ६ लिटरमा झारिएको छ ।
एन्टिबायोटिकले काम गरेकाले अहिले इन्फेक्सन न्यून भएको र ज्वरो नआएको कारण डराउनु पर्ने अवस्था नरहेको भण्डारीको उपचारमा संलग्न चिकित्सक डा. मुकेश मिश्राले जानकारी दिएका छन । यस्तै सांसद भण्डारीका सचिवालय सदस्य माधव न्यौपानेका अनुसार उनी अहिले दोहोर संवाद गरिरहेको र सबै जानकारी आफैं लिइरहेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत न्यौपानेले उक्त कुरा उल्लेख गरेका हुन्।