सरकार ५ वर्ष चल्छ,मध्यावधि निर्वाचन हुँदैन: मुख्यमन्त्री शाह

काठमाण्डु टुडे २०७९ फागुन ८ गते ११:१६ मा प्रकाशित

काठमाण्डु,८ फागुन– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष चल्ने बताएका छन । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशंका व्यक्त भएको बताउँदै उनले प्रदेश सरकार पूर्ण कार्यकाल चल्ने बताएका छन ।

आज (सोमबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरुसँगको भेटघाट कुरा गर्दै उनले यस्तो बताएका हुन । शाहले प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले मध्यावधि निर्वाचन नचाहेको बताएका छन । उनले भने, ‘विश्वासको मतका लागि सबै दलहरुसँग सकारात्मक छलफल भैरहेको छ । केही दिनमा हामी विश्वासको मत लिन्छौं ।

सुदूरपश्चिम सरकार पाँच वर्ष निरन्तर चल्छ ’ यो बेकारको कुरा हो, मध्यावधि निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्, फेरि चुनावमा गए जनताले लखेट्छन्,। २७ पुसमा मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।

उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेताको हैसियतमा शाह २६ माघमा सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us