
काठमाण्डू, २२ वैशाख– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खेमराज सेढाईं नाम गरेको व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन । उनलाई सुकेधाराबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी सोमबार सुकेधारास्थित एक पार्टी प्यालेसमा भएको नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको छलफलमा समेत सोमबार रहेका थिए ।
उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जानकारी दिएको छ । उक्त छलफल सकिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
१५ चैतमा भएको राजावादी प्रदर्शनमा प्रहरीले थुप्रैलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको पनि प्रहरीले जानकारी दिएको छ ।