
काठमाण्डु, ७ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले वर्तमान सरकार जनताको अवस्ीथा बदल्न प्रतिबद्ध रहेको बताएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा आइतबार एक सन्देश जारी गर्दै उनले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिबद्ध रहेको बताए ।
संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको उनको भनाइ छ । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका लागि निरन्तर लाग्नुपर्नेमा उनले जोड दिए । जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको प्रधानमन्त्रीले उल्लेख गरे ।
‘आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ,’ उनले भनेका छन्, ‘तसर्थ ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपब्लधीहरुको रक्ष गर्दै संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादउन्मुख राज्यको आधारशीला खडा गर्नु आजको राष्ट्रिय कार्यभार हुन आइपुगेको छ ।’
प्रजातन्त्र दिवसले राष्ट्रिय सहमतिमार्फत देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासहित प्रधानमन्त्रीले समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन् । ‘आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु,’ उनले सन्देशमा लेखेका छन् ।