एक चरण पार लगाए, बाँकी भाग २ मा आउँछ: सुदन किराँती

काठमाण्डु टुडे २०७९ फागुन १ गते १७:३२ मा प्रकाशित

काठमाण्डु,१ फागुन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बाहिरबाट हेरे जस्तो मन्त्रालयको अवस्था नभएको बताएका छन ।

उनले आफ्नो मन्त्रालयमा नाङ्गा बाबादेखि बोइङ जहाजका मालिकहरुसमेत आउने गरेको सुनाउँदै मन्त्रालयको काम भेग रहेको बताएका छन ।

आज (सोमबार) २८ औं जनयुद्ध दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्रले विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले आफ्नो अनुभवमा मन्त्रीहरुलाई ८–९ दिन मै बिगार्ने प्रयास गरिएको तर आफूले एक चरण पार लगाएको पनि बताएका छन । उनले भने, ‘मेरो आफ्नै अनुभव चाहिँ मन्त्रीहरू बिग्रन चाहिँ ८–९ दिनमै बिगारिहाल्ने रहेछन् ।

एकचरणको पार लगाएको छु । अरू सबै पलपलको कुरा भाग २ मा आउनेछ । ’ उनले बाहिरबाट हेर्दा जस्तो देखिएपनि भित्र मन्त्रालय अलिक भेग रहेको बताएका छन ।

उनले भने, ‘नाङ्गो जोगी, टप देशको सेलिब्रेटिदेखि आफ्नै बोइङ भएको मालिकहरु पनि यो मन्त्रालय भित्र पर्दो रहेछ । म भर्खर बुझ्दैछु । भर्खर २६–२७ दिन भयो । ’

पर्यटनको क्षेत्रमा धेरै काम गर्नुपर्ने बताउँदै उनले यही कार्यकालमा पर्यटन क्षेत्रले डिपाचर गर्ने पनि बताएका छन । उनले पहिले दिगो विकासमा आर्थिक विकास, सामाजिक न्याय र पर्यावरणप्रतिको मानवको उत्तरदायित्व हुनुपर्ने बताउने गरिए पनि अब संस्कृतिको संरक्षण पनि त्यसमा थप भएर आएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us