संघीयता कसैले दिएको भिख होइन: यादव

काठमाण्डु टुडे २०७९ फागुन १ गते १६:३७ मा प्रकाशित

काठमाण्डु,१ फागुन– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताएका छन ।

आज (सोमबार) जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले अहिलेको संघीयता आम नागरिकले लडेर ल्याएको पनि बताएका छन । उनले स्थानीय निर्वाचनमा जितेका र प्रदेश र प्रतिनिधि सभामा निर्वाचन जितेका केही सांसदहरुले संघीयता चाहिँदैन भनिरहेको भन्दै संघीयता उनीहरु कसैले दिएको भिख नभएको बताएका छन ।

उनले मधेस प्रदेशका नागरिक रहेसम्म संघीयता रहिरहने दाबी गरेका छन । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इमान्दारका साथ प्रहरी समायोजन र निजामति ऐन लगायतका कानुनहरु पास गर्नेमा विश्वस्त रहेको बताएका छन ।

उनले भने, ‘म प्रधानमन्त्रीज्युलाई भन्न चाहन्छु, तपाई पनि इमान्दारका साथ कानुनहरु जुन विगतका सरकारबाट अड्किएको छ, प्रहरी समायोजन लगायत निजामति ऐन, लगायत नागरिकता विधेयक सम्बन्धी, सबै तुरुन्त लागू गरेर संघीयतालाई मजबुत बनाइदिनु हुन्छ भन्ने मलाई विश्वास छ ।

यसले संघीयता बलियो हुनका साथै देशको विकासको रफ्तार बढ्छ ।’ उनले भने, ‘आजको दिनमा केही स्थानीय चुनावबाट आएका केही व्यक्ति र प्रदेश र प्रतिनिधिसभाबाट नयाँ आएका केही पार्टीका नेताहरु काठमाडौँमा बसेर संघीयता चाहिँदैन भनिरहेका छन्,

म उहाँहरुलाई यहीँबाट खबरदारी गर्न चाहन्छु यो उनीहरुले दिएको भिख होइन । हजारौँ बलिदान पछि आएको संघीयता हो । जबसम्म मधेस प्रदेशका जनता रहन्छन् तबसम्म यो देशमा संघीयता रहन्छ ।

संघीयता जानेवाला छैन ।’ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४० जना शहीद परिवारलाई एक लाख रुपौयाँका दरले रकम हस्तान्तरण गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us