कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदैछ: महत

काठमाण्डु टुडे २०७९ माघ २७ गते १३:२९ मा प्रकाशित

काठमाण्डु,२७ माघ–कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन । नेपाल प्रेस युनियन चितवनले आज शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताएका छन ।उनले भने, ‘हामीले सबै दललाई कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौँ ।

सकारात्मक प्रतिक्रियाहरू आएका छन् ।’ उनले कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने बताएका छन ।

नेपालको आर्थिक, सामाजिक रुपान्तरण, सुशासन, विकास, समृद्धिका लागि र देशको मजबुतीका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताएका छन ।

महतले थपे, ‘ढिलो चाँडो अन्य पार्टीहरूले पनि महसुस गर्नेछन् भन्ने हामीलाई लागेको छ ।’ उनले कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ भएकाले अहिले नै सरकारमा जाने भन्ने स्थितिमा नरहेको बताएका छन ।

कांग्रेस कानुनी शासनमा विश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी विचार र सुशासनप्रति प्रतिबद्ध पार्टी भएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा प्रवक्ता डा महतले अहिलेको गठबन्धन महत्वकाङ्क्षाको पराकाष्ठा र परिपूर्तिका लागि टिप्पणी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us