२० वर्षमा देशलाई समृद्धिको शिखरमा पुर्‍याउन सकिन्छ: भट्टराई

काठमाण्डु टुडे २०७९ माघ २७ गते १३:१६ मा प्रकाशित

काठमाण्डु,२७ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई जोगाउँदै अबको २० वर्षभित्र मुलुकलाई समृद्धिको शिखरमा पुर्याउन सकिने बताएका छन् ।

शुक्रबार काठमाण्डुमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम अधिवेशन सफलताको शुभकामना दिँदै भट्टराईले लोकतन्त्रलाई भत्काएर वैकल्पिक राजनीति हुन नसक्ने पनि बताएका छन ।

उनले भने, ‘अबको वैकल्पिक राजनीतिको एजेन्डा भनेको लोकतन्त्रलाई जोगाएर अघि जाने हो । यसलाई भत्काएर राजा ल्याउँछु भन्ने साथीहरू पनि वैकल्पिक भनिरहनुभएको छ तर त्यस्तो होइन, त्यो भ्रममा पर्नुहुँदैन’, ।

उनले यही लोकतन्त्रमा टेकेर अपूर्णताहरुलाई पूर्ण बनाउँदै विगतका राम्रा कुरा सिकेर अघि बढ्न सके वैकल्पिक राजनीतिको भविष्य रहेको पनि बताएका छन ।

उनले भने, ‘लोकतन्त्रको जगमा सुशासन र समृद्धि हुँदै १५,२० वर्षभित्र देशलाई कमसेकम मध्यम स्तरतिर पुर्‍याउने हो ‘त्यो भनेको अहिलेको औसत प्रतिव्यक्ति १३ हजार डलर छ त्यो सम्म हाम्रो राष्ट्रिय आम्दानी पुर्‍याउने हो ।

राष्ट्रिय आम्दानीको प्रतिफल सबैले पाउनुपर्‍यो । केही अरबपति र कोही सडक पति हुन भएन । प्रकृतिको संरक्षणसँगै दिगो विकासलाई ध्यान दिने आर्थिक वृद्धि समन्यायीक वितरण, सस्टेनेवल डेभलपमेन्ट र ह्याप्पीनेससहितको विकास र समृद्धि ल्याउने हाम्रो लक्ष्य हो ।

अबको वैकल्पिक राजनीति गर्ने भनेको त्यो प्राप्त गर्ने हो ।’ उनले पुराना पार्टीहरूलाई गालिगलोज गरेर नभई आफ्ना गतिविधिहरूलाई सुधार गर्दै जानुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us