सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाण्डु टुडे २०७९ माघ २७ गते १२:२६ मा प्रकाशित

काठमाण्डु,२७ माघ– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

एमाले नेतृत्वको सरकारले प्रदेश सभामा विश्वासको मत प्रप्त गर्न नसकेपछि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेता शाह बिहीबार नयाँ मुख्यमन्त्री नियुक्त भएका थिए ।

सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्रीको शपथका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावल भने प्रदेश सभामा विश्वासको मत प्रप्त गर्न नसकी १ महिनाकै अवधिमा सरकारबाट बाहिरिएका हुन्।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले बिहीबार प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।

तर, प्रदेश सभाको बहुमत संख्याले रावलले पेस गरेको प्रस्ताव अस्वीकृत गरेको थियो। प्रदेश सभामा विश्वासको मत माग्ने प्रस्ताव अस्वीकृत भएपछि रावलले बिहीबार साँझ नै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।

त्यसपछि प्रदेश प्रमुख देवराज जोशीले शाहलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शाहलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us