सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि संयन्त्रको बैठकमा

काठमाण्डु टुडे २०७९ माघ २७ गते ११:२५ मा प्रकाशित

काठमाण्डु,२७ माघ– गत आइतबार मात्र सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी भएका छन ।

सरकारबाटै बाहिरिएकोले सरकार सञ्चालनमा सहयोग गर्ने हेतुले गठित संयन्त्रको बैठकमा रास्वपाको उपस्थितलाई अर्थपूर्ण रुपमा लिइएको छ । संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद, राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट भएको बहिर्गमन र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल भइरहेको छ ।

१३ माघमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधि सभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट नागरिकता पुनः प्राप्त गरेपछि लामिछानेले आफूलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गरेका थिए।

गैर सांसदलाई पनि ६ महिनासम्म मन्त्री बनाउन मिल्ने संविधानको व्यवस्थाअनुसार आफू मन्त्री बन्नु पर्ने लामिछानेको भनाइ थियो। रास्वपाले पनि यसअघिको सहमतिअनुसार गृहमन्त्री आफ्नो दल नै पाउने दाबी गर्दै आएको थियो थियो ।

तर प्रधानमन्त्री गृहमन्त्री दिन तयार नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी   सरकारबाट बाहिरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us