
काठमाण्डु, २७ माघ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीन महिना नपुग्दै सरकार परिवर्तन हुनुले मुलुक अस्थिरताको दुष्चक्रमा फस्न लागेको बताएका छन् ।
एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न नसक्दा बिहीबार ढलेको थियो । नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरीसहित नेता कार्यकर्ता रिहाइको सर्त राख्दै विश्वासको मत नदिएपछि सरकार ढलेको हो । मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा उन्मुक्तिका सात प्रदेशसभा सदस्य अनुपस्थित रहे ।
त्यसैलाई संकेत गर्दै भट्टराईले ट्वीटमार्फत चिन्ता व्यक्त गरेका हुन् । ‘आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम प्रदेश सरकार पतन। यी घटनाले देश अर्को अस्थिरताको दुष्चक्रममा फस्न लागेको संकेत गर्छ,’ भट्टराईले भनेका छन् ।
भट्टराईले आसन्न राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने बताए । नयाँ राष्ट्रपति चयनका लागि आगामी २५ फागुनमा निर्वाचन हुँदैछ ।