प्रधानमन्त्री प्रचण्ड र युरोपेली युनियनकी आयुक्त जुट्टा उर्पिलाइनेनबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ माघ २५ गते १६:१९ मा प्रकाशित

काठमाण्डु,२५ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली यूनियन (ईयू) कि आयुक्त जुट्टा उर्पिलाइनेनबीच बुधबार भेटवार्ता भएको छ ।

बुधबार नै नेपाल भ्रमणमा आएकी उनले प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलसहित भेटवार्ता गरेकी छन । नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि जुट्टा भ्रमणमा आएकी काठमाण्डुस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जानकारी दिएको छ ।

युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको बताएको छ ।

सङ्घले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवर्द्धनमा सहयोगको प्राथमिकता निर्धारण गरेको छ ।

आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति अस्पतालमा रहेको मानव दुग्ध बैंकको भ्रमण गर्नाका साथै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमको नवीकरणमा इयूको प्रतिबद्धता जनाउने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us