
काठमाण्डु,२५ माघ– भावी राष्ट्रपतिको विषयमा सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो छलफल भएको छ ।
सोमबारयता प्रचण्ड र ओलीबीच दैनिक जसो भेटवार्ता भइरहेको छ । बुधवार एमाले अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीचको कुराकानीमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएर छलफल गर्न दुवै नेताले सहमति जनाएका छन ।
‘उच्चस्तरीय संयन्त्रको बैठक बस्छ । त्यो बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ, सहमतिबाटै अघि बढ्ने प्रयास हुन्छ’, बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
२५ फागुन गते राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ एमाले र कांग्रेसले आआफ्नै उम्मेदवार उठाउने तयारीमा रहेका छन । एमाले र कांग्रेसले फरक फरक उम्मेदवार उठाउने भएपछि सत्तारुढ दल एमाले र माओवादीको राष्ट्रपतिबारे फरक फरक धारणा सार्वजनिक भइरहेका छन् ।
एमालेले १० पुसमा भएको सहमति अनुसार राष्ट्रपति एमालेको हुने बताउँदै आएको छ भने प्रधानमन्त्री प्रचण्डले सकभर राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् ।
जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका उम्मेदवारमा राष्ट्रिय सहमति हुन नसक्ने बताउँदै आएका छन् ।