
काठमाण्डु,२० माघ– पूर्व मन्त्री प्रभु साहको साथ छोडेर प्रदेश सांसद केशव राय चौधरी एमालेमा प्रवेश गरेका छन् । चौधरी प्रभु साहको टिमबाट रौतहट– ३( १) बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।
मधेस प्रदेशको राजधानी जनकपुरमा शुक्रबार एक समारोहका बीच नेकपा एमालेका केन्द्रीय सदस्य, मधेस प्रदेशका संसदीय दलका नेता एवम भौतिक पूर्वाधार मन्त्री सरोज यादवको पहलमा चौधरीलाई एमाले पार्टीको सदस्यतासहित टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।
४ मंसिरमा भएको निर्वाचनमा प्रभु साह एमाले पार्टीको टिकट पाकेटमा राखेर प्रतिनिधिसभा तर्फ स्वतन्त्र उम्मेदवारी दिएपछि उनीसँगै कुन्दन कुश्वाहाले पनि एमालेको टिकट छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
प्रभु साहको समर्थन पाएका प्रदेश सांसदका स्वतन्त्र उम्मेदवार केशव राय चौधरी निर्वाचित भएका थिए भने अर्का स्वतन्त्र उम्मेदवार कुन्दन कुश्वाहा पराजित भएका थिए ।