फरार अभियुक्तको चक्कु प्रहारबाट प्रहरी हवल्दार घाइते

काठमाण्डु टुडे २०७९ माघ १९ गते १५:३५ मा प्रकाशित

रौतहट, १९ माघ– रौतहटमा फरार अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरीमाथि चक्कु प्रहार भएको छ । फरार अभियुक्तको चक्कु प्रहारबाट प्रहरी सहायक हवल्दार सुरेश यादव घाइते भएका छन ।

बुधबार दिउँसो रौतहटको गौर नगरपालिका– २ लालबकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बसेको भन्ने सूचना प्रहरी समक्ष आएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटवाट खटिएको प्रहरी टोलीले सर्च अप्रेशन गरेको थियो । पक्राउ पर्नेमा गौर नगरपालिका– ५ कोइरीटोल बस्ने १९ वर्षीय राहुल यादव र गौर नगरपालिका–४ बस्ने १९ वर्षीय रवि यादव रहेका छन ।

राहुल र रवि लाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा राहुलले प्रहरी सहायक हवल्दार यादवलाई चक्कु प्रहार गरेका थिए । प्रहरी सहायक हवल्दार सुरेशको दाहिने हातमा चोट लागेको छ ।

प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाइफायर गरी राहुल यादवलाई पक्राउ गरेको थियो । उनको साथबाट चक्कु र कैची समेत बरामद गरेको छ ।

घटनापछि भाग्न सफल रविलाई खोजतलास गर्ने क्रममा बिहीबार बिहान नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us