
काठमाण्डु,१९ माघ– ४ मंसिरमा भएको निर्वाचनमा कैलाली २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।
उनीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो ।
त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले बताएका छन ।
अदालतको उक्त आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो । ०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत ४ मंसिरमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभा संसदमा विजयी भएका थिए ।
कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने बताएका थिए ।
चालक साजन चौधरीले उनीहरुले नै आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान दिएका थिए । जिल्ला अदालतमा ‘आगजनी गरेको’ आरोपमा तत्कालीन मुलुकी ऐन बमोजिम मुद्दा परे पनि आरोपित सबैजना म्याद गुजारेर बसे र अदालतमा हाजिर हुन गएनन् ।
जिल्ला अदालतले ‘कसूर अपराधलाई स्वीकार गरी बसेको’ ठहर गर्यो र उनीहरुलाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसूर गरेको ठहर गर्यो ।