माओवादी केन्द्रको बटमलाइन: गृह मन्त्रालय कुनै हालतमा नछोड्ने

काठमाण्डु टुडे २०७९ माघ १८ गते १३:१७ मा प्रकाशित

काठमाण्डु,१८ माघ– नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय छोड्न नहुने ‘बटमलाइन’ बनाएको छ । सोमबार र मंगलबार बसेको पदाधिकारी बैठक र त्यसअघि बसेको स्थायी कमिटी बैठकमा समेत माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालय माओवादीले नै राख्नुपर्ने सुझाव आएपछि माओवादी गृह मन्त्रालय नछोड्ने बटमलाइनमा पुगेको छ ।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा समेत गृह मन्त्रालयका बारेमा छलफल बताइएको छ । छलफलका क्रममा अध्यक्ष ओलीले राखेको गुनासो प्रचण्डलाई सुनाएका थिए ।

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार गठन गर्दा लिएको उद्देश्य र यसले अघि सारेका कार्यभार पुरा गर्न पनि गृह मन्त्रालय सरकारकै नेतृत्व गर्ने दलले लिँदा काम गर्न सहज हुने धारणा राखेका थिए ।

प्रचण्डको कुरा सुनेपछि ओलीले पनि ‘त्यो त हो’ भन्ने जवाफ फर्काएका थिए । दुई नेताको कुराकानीमा लामिछानेलाई गृहको साटो अर्को कुनै मन्त्रालय दिन सकिने भन्दै एक पटक गठबन्धनको बैठक डाकेर निष्कर्षमा पुग्न सकिनेमा सहमत भएको स्रोतको जानकारी दिएको छ ।

ओलीसँगको छलफलमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीमा आएको सुझाव र दबाबबारे पनि ओलीलाई बताएका थिए । माओवादी स्थायी र पदाधिकारी बैठकमा नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालय कुनै हालतमा छोड्न नहुने सुझाव दिएको स्वयं प्रचण्डले सार्वजनिक रूपमै बताइसकेका छन् ।

माओवादी केन्द्रको बैठकमा रास्वपालाई गृह मन्त्रालयको साटो अन्य मन्त्रालय दिन सकिने बारेमा समेत छलफल भएको छ । सरकार गठनका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाए पनि नागरिकता विवादमा मुछिएपछि लामिछानेले पदबाट राजीनामा गरेका थिए ।

त्यसयता गृह मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्न पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us