
काठमाण्डु, १७ माघ– संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन ।
आज (मंगलबार) पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा उनले यस्तो निर्देशन दिनुभएको हो । उनले विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका हुन् ।
उनले पशुपति क्षेत्र र यहाँका शौचालय असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर सफा गर्न आग्रह गरेका छन । उनले, ‘एक महिनामा सफा पशुपति पवित्र पशुपति नाराका साथ पशुपति क्षेत्र सफा हुनुपर्छ ।
एक महिनाभित्र सफा गर्नु भनेको छु । आकाश झार्नु भनेको छैन । आकाश झार्नु भनेको भए कुतर्क भयो । सफा गरौं पशुपतिलाई जसरी पशुपतिप्रति मानिसहरुले जस्तो मानसिकता बनाएर आएको हुन्छ त्यो भन्दा बढी आकर्षित गर्नुपर्छ’ ।
मन्त्री किरातीले पशुपति क्षेत्र विकास कोषको कामको पनि आलोचना गरेका छन् । कोषले कोषले कल्याणकारी कामका साथै विश्वविद्यालय, अस्पताल, विद्यालय सञ्चालन गर्नुपर्नेमा केही काम हुन नसकेको उनले बताएका छन ।
मन्त्री किराँतीले मन्त्री र सचिवलाई पैसा दिनुपर्ने भन्दै पशुपतिमा फूल महँगोमा बेच्ने गरिएको गुनासो आएकाले त्यसबारे नियमन गर्न निर्देशन दिएका छन ।
उनले कुन सरकारको पालामा कुन मन्त्री र सचिवले पैसा लिए भन्ने नाम दिए पत्रकारहरुको सामु पढेर सुनाउने पनि बताएका छन ।