लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरियो

काठमाण्डु टुडे २०७९ माघ १७ गते १२:३२ मा प्रकाशित

काठमाण्डु,१७ माघ–लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता लिन नमाने पछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो ।

२५ माघमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तीन दलका तीनै जना उम्मेदवार कायम रहेको छ । लुम्बिनी प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

निर्वाचनको लागि ११ माघमा उम्मेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनबाट एमाले र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी परेको छ । त्यस्तै विपक्षी दल कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ ।

उपनिर्वाचनमा सत्ता गठबन्धनबाटै दुई जना उम्मेदवार भएपछि सत्ता गठबन्धन फुटेको पुष्टि भएको हो । नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो दल सत्ता गठबन्धनबाट बाहिर रहेको बताएकी छन ।

एमालेबाट रोल्पाका कुमार दसौदी, नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी अन्तिम नामावलीमा प्रकाशित भएको छ ।

  एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us