पाकिस्तानको पेशावरमा शक्तिशाली बम विस्फोट, कम्तिमा ५९ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ १७ गते ८:१५ मा प्रकाशित

एजेन्सी– पाकिस्ताको उत्तर पश्चिमी सहर पेशावरमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ५९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अधिकांश प्रहरी अधिकारी छन् । विस्फोटमा १ सय ५० भन्दा बढी सर्वसाधारण घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
सोमबार दिउँसो स्थानीय समयअनुसार करिब १ः३० बजेतिर एक मस्जिदमा आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटको समयमा मस्जिदमा प्रार्थनाको समय थियो । समाचार संस्था एपीका अनुसार मृतकका शव भग्नावशेषमा पुरिएका छन् ।
पेशावरका प्रहरी प्रमुखले मस्जिदमा विस्फोट हुँदा करिब चार समय मानिस त्यहाँभित्र रहेको जानकारी दिएका छन् । यसैबीच पाकिस्तानी तालिबानले हमला आफूले गराएको बताएको छ ।
तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का कमाण्डर सरबकाफ मोहमन्दले ट्वीटमार्फत आक्रमणको जिम्मेवारी लिएका हुन् ।

तर, टीटीपी प्रवक्ता मोहम्मद खुरासानीले विस्फोटमा आफ्नो समूहको संलग्नता अस्वीकार गरेका छन् । विस्फोटको नीति आफ्नो समूहको नरहेको उनले बताए । प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गरेका छन् । विज्ञप्तिमार्फत प्रधानमन्त्री सरिफले घटनामा संलग्न समूहको इस्लामसँग कुनै साइनो नहुने बताए ।

सिंगो देश आतङ्कवादको त्रासविरुद्ध उभिएको उनले उल्लेख गरे । ‘मानव त्रासदीको यो घटना अकल्पनीय छ । यो पाकिस्तानमाथिको आक्रमण हो’, उनले भनेका छन् । विष्फोटमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी उनले दिएका छन् ।
घटनापछि राजधानी ईश्लामावादको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us