
काठमाण्डु, ७ माघ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या आरोपी एमाले सांसद् लक्ष्मी महतो कोइरीलाई पक्राउ गरिने बताएका छन् ।
शनिबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले बोल्ने मात्र नभई काम गरेर नतिजा देखाउने प्रतिबद्धता जनाए । ‘हामीले सबै सुरूआत गरिसकेका छौं । रिजल्ट आइहाल्छ । अहिले मुखले बोलेर भन्नुभन्दा पनि रिजल्टले देखाउने कुराहरू हो,’ उनले भने, ‘एक जनाको मात्रै होइन । धेरैका कुराहरू छन् । त्यो नतिजा आइहाल्छ । नतिजा नआउञ्जेलसम्म प्रक्रियामा प्रश्नहरू स्वाभाविक रूपमा हुन्छन् । तर नतिजा आउँछ । थाहा पाइहाल्नुहुन्छ ।’
महतोलाई पक्राउ नगरेको भन्दै प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेमाथि प्रश्न उडाएका थिए । खतिवडाले गृह मन्त्रालयले फरार सांसदलाई पक्राउ नगरी प्रेस विज्ञप्ति निकालेको भन्दै लामिछानेको आलोचना गरेका थिए ।
०७२ सालमा भएको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई आन्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए । उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर हत्या घटनाबारे छानबिन गर्न ०६६ मंसिरमा निर्देशन दिएको थियो । कोइरी ४ मंसिरको निर्वाचनमा एमालेका तर्फबाट महोत्तरी–१ बाट सांसद निर्वाचित भएका थिए ।